बर्दिबास, महोत्तरी। मधेश प्रदेशमा शान्ति-सुरक्षा र सामाजिक सद्भाव कायम राख्न भारतबाट नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य रूपमा आधिकारिक परिचयपत्रका आधारमा मात्रै प्रवेश गर्न दिने व्यवस्था गरिएको छ।
महोत्तरीसहित तराईका जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालासँग बसेको समन्वय बैठकले पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाको समग्र शान्ति-सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम राख्न सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै यात्रुले आफ्नो आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ।
बैठकले परापूर्वकालदेखि कायम रहेको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई अक्षुण्ण राख्न सबै नागरिकलाई संयमता अपनाउन तथा कुनै पनि हिंसात्मक, द्वन्द्वमूलक वा उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन अपिल गरेको छ।
त्यसैगरी सामाजिक सञ्जालमा अफवाह, भ्रामक, अपुष्ट तथा द्वेष फैलाउने सामग्री पोस्ट वा शेयर नगर्न सबैलाई आग्रह गरिएको छ।
प्रशासनले कुनै पनि धार्मिक जुलुस, र्याली, सभा वा सार्वजनिक कार्यक्रम सञ्चालन गर्नुअघि अनिवार्य रूपमा स्थानीय प्रशासनबाट पूर्वस्वीकृति लिन पनि आग्रह गरेको छ।
जिल्लाको शान्ति-सुरक्षा कायम राख्न सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाउँदै संवेदनशील क्षेत्रमा गस्ती बढाउने तथा शंकास्पद व्यक्तिमाथि निगरानी र आवश्यक अनुसन्धानलाई तीव्र बनाउने निर्णयसमेत गरिएको छ।









