नारायणी अस्पताल तोडफोड प्रकरण : वीरगञ्ज-२५ का वडाध्यक्षसहित तीन जना पक्राउ


वीरगञ्ज। नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिट घटनाको अनुसन्धानका क्रममा वीरगञ्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्ष चतुर्वेदी, अंकित पटेल र शैलेश पटेललाई पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। आवश्यक म्याद थपका लागि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराइने डीएसपी मल्लले जानकारी दिए।

वडाध्यक्षको रिहाइको माग

यसैबीच, वीरगञ्ज महानगरपालिकाको नगर परिषद् बैठकले पक्राउ परेका वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

परिषद्ले जननिर्वाचित प्रतिनिधिलाई पक्राउ गर्नु अन्यायपूर्ण भएको दाबी गर्दै निष्पक्ष अनुसन्धानका साथ तत्काल रिहाइको माग गरेको हो। साथै, वडाध्यक्षलाई शीघ्र रिहा नगरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

उल्लेखनीय छ कि शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा चिकित्सकमाथिको कुटपिट घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। उक्त घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै विरोधसमेत जनाएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको