१२ साउन, बर्दिबास। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले मिनी ट्रकको छतमा बनाइएको ‘फल्स बटम’ (नक्कली तह) भित्र लुकाएर राखिएको ४५४ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ आउँदै गरेको बा ४ ख ५६२१ नम्बरको मिनी ट्रकलाई बर्दिबास नगरपालिका-३ मा शंकाको आधारमा रोकी जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकको छतमा विशेष रूपमा बनाइएको फल्स बटमभित्र ६० वटा पोकामा लुकाएर राखिएको ४५४ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका-३ निवासी २६ वर्षीय विश्व तामाङलाई पक्राउ गरिएको छ।
पक्राउ परेका तामाङ, बरामद गाँजा, मिनी ट्रक, सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब तथा एक थान मोबाइल थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोले पछिल्लो समय विभिन्न सवारी साधनमा गोप्य स्थान (फल्स बटम) निर्माण गरी लागुऔषध ओसारपसार गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यस्ता अवैध गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको जनाएको छ।










