सर्लाहीमा अख्तियारको छापा, घुससहित दुई कर्मचारी पक्राउ


सर्लाही। सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुखसहित दुई जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले डिभिजन प्रमुख सिडिई अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा टोली परिचालन गरिएको थियो।

टोलीले सर्लाहीको बागमती नगरपालिका-१२ स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको क्वाटरबाट उनीहरूलाई घुस रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।

अख्तियारले पक्राउ परेका कर्मचारीहरूको साथबाट घुसबापत लिएको ७ लाख ५० हजार रुपैयाँ, स्रोत नखुलेको ७१ हजार १ सय १५ रुपैयाँ र तीन थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको