ढल्केबर। धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित ग्रिन बायो फ्यूल उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन्।
बिहीबार बिहान उद्योगभित्र रहेको कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो।
आगलागीमा बाराको प्रसौनी गाउँपालिका–४, खुट्वा प्रसौनीका २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सार र २५ वर्षीय धर्मराज महतो घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनालाई प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई बर्न अस्पताल, कीर्तिपुर रिफर गरिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









