काठमाडौं — अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ। नेपाल प्रहरीका अनुसार सोमबार बिहान ६स्५५ बजेसम्म देशभरका ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।
कोशी प्रदेश अन्तर्गत भोजपुरको मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलामको मेची राजमार्ग ९राजदुवाली–ताल्चाजुङ सडकखण्ड० अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकका लागि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। यस्तै, खोटाङको मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी–६, मात्तिम क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग ९खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्ड० मा सम्भावित बाढीको जोखिमका कारण सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ। मंगलबार बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्थाको मूल्याङ्कन गरी सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–४ तातोपानी जाने सडक र वडा नं। २ कोदारी क्षेत्रमा पहिरोका कारण दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, मकवानपुरको कान्तिलोकपथ ९हेटौंडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्ड० मा पनि बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
रसुवाको पासाङ ल्हामु सडकखण्ड अन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–४ बोगटेखोला क्षेत्रमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
यसैगरी, गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर र सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित महाकाली राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
नेपाल प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा अघि सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन, वैकल्पिक मार्ग प्रयोग गर्न र बाढी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।









