धनुषामा खैरो हिरोइन र सर्टगनका तीन राउण्ड गोलीसहित युवक पक्राउ


धनुषा । धनुषा प्रहरीले लागूऔषध तथा अवैध हतियार नियन्त्रण अभियानअन्तर्गत खैरो हिरोइन र सर्टगनमा प्रयोग हुने तीन राउण्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका-३ श्रीरामपुर निवासी अन्दाजी २० वर्षीय मुकेश दासलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण के.सी.को नेतृत्व तथा इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार साँझ उनको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरको छानोको बलोमा कालो प्लास्टिकभित्र लुकाइराखिएको अवस्थामा सर्टगनमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, उनले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट प्लास्टिकसहित ०.१४० ग्राम तथा प्लास्टिक बाहेक ०.११० ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्री स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा बुद्धिजीवीहरूको रोहवरमा कानुनी प्रक्रिया पूरा गरी मुचुल्का उठाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दासलाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय ढल्केबरमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार बरामद गरिएको पदार्थ लागूऔषध नै हो वा होइन भन्ने यकिन गर्न प्रयोगशालामा परीक्षण गरिनेछ। साथै, बरामद भएका गोली कहाँबाट ल्याइयो, के प्रयोजनका लागि राखिएको थियो तथा लागूऔषध कारोबारसँग यसको सम्बन्धबारे समेत अनुसन्धान केन्द्रित गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले लागूऔषध कारोबार, अवैध हतियार तथा शान्ति–सुरक्षाविरुद्धको अभियानलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने जनाएको छ। घटनासम्बन्धी लागूऔषध तथा हतियारसम्बन्धी कसुरअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको