सर्लाहीमा ४ क्विन्टलभन्दा बढी गाँजा बरामद, दुई पक्राउ


सर्लाही। सर्लाही प्रहरीले शनिबार ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। जिल्लाको कौडेना गाउँपालिका-१ सुखचैना गाउँबाट प्रहरीले चार क्विन्टल १९ केजी ९३ ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले व्यापक खोजतलासका क्रममा विभिन्न व्यक्तिका घरको ओछ्यानमुनि लुकाएर राखिएको तथा करेसाबारीमा पत्करले छोपिएको अवस्थामा गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार जिल्ला प्रहरी प्रमुख (एसपी) रविन्द्रनाथ पौडेलको नेतृत्वमा ठूलो संख्यामा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो।

घटनासँग सम्बन्धित आरोपमा प्रहरीले २५ वर्षीय राहुल राउत र ४६ वर्षीय महादेव राउतलाई पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिनुभयो।

प्रहरीले गाँजा तौल्न प्रयोग गरिएको चार थान डिजिटल नापतौल मेसिन र एक थान सानो तराजु पनि बरामद गरेको जनाएको छ।

यसअघि सर्लाहीको उत्तरी भेगका लालबन्दी, हरिवन र बागमती क्षेत्रमा पटक–पटक गाँजा बरामद हुँदै आए पनि दक्षिणी भेगको सुखचैना गाउँबाट यति ठूलो परिमाणमा गाँजा बरामद भएको यो उल्लेखनीय घटना मानिएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको