माधव पौडेल
बर्दिबास, महोत्तरी
’स्मार्ट बर्दिबास, सुरक्षित बर्दिबास’ को दीर्घकालीन लक्ष्यलाई आत्मसाथ गर्दै बर्दिबास नगरपालिकामा फाइबर नेटवर्क विस्तार तथा सीसीटीभी निगरानी प्रणाली स्थापना कार्य सफलतापूर्वक सम्पन्न भएको छ । सहरी सुरक्षालाई प्रविधिमैत्री बनाउने र भविष्यको डिजिटल पूर्वाधारको जग बसाल्ने उद्देश्यका साथ यो आयोजना कार्यान्वयन गरिएको हो ।
आज ईलाका प्रहरी कार्यालय वर्दिवासमा आयोजित कार्यक्रममा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले सिसिटिभिको स्क्रिन उद्घाटन गर्दै नगरपालिकाले शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन नगरका विभिन्न संवेदनशील तथा मुख्य क्षेत्रहरूमा तेस्रो आँखा को दायरालाई व्यापक रूपमा विस्तार गरेको वताए ।

यस आयोजना अन्तर्गत नगरका मुख्य १५ वटा प्रमुख जक्सन (चोक तथा नाका) हरूलाई केन्द्रित गरी क्यामेराहरू जडान गरिएको र सुरक्षा व्यवस्थालाई अभूतपूर्व रूपमा चुस्त बनाउन पुराना क्यामेराहरूलाई मर्मत गर्दै नयाँ अत्याधुनिक क्यामेराहरू थप गरि जम्मा ३१ वटा वनाइएको जानकारी दिए ।
नगरपालिकाका कार्यकारी अधिकृत राममणि अधिकारीले हालको ३१ वटा क्यामेराहरूको मद्दतले अब बर्दिबासका मुख्य बजार क्षेत्र, राजमार्ग र आवतजावत बढी हुने संवेदनशील चोकहरूको २४ सै घण्टा निगरानी गरिनेछ र फाईवर नेटवर्क भित्र रहेका सवै क्षेत्रमा सजिलै क्यामेरा जडान गर्न सकिने व्यवस्था गरेको हुँदा टोल सुधार समितिले समेत यसमा सहकार्य गर्न सकिने वताए । सिसीटीभीहरूलाई उच्च गतिको इन्टरनेट र निर्बाध सञ्चार प्रणालीसँग जोड्नका लागि नगरमा कुल १५ किलोमिटर फाइबर नेटवर्क सफलतापूर्वक बिछ्याइएको जानकारी गराए ।
ईलाका प्रहरी कार्यालय वर्दिवासका प्रमुख प्र.ना.उ. गुरु प्रसाद तिम्सिनाले यस नेटवर्कलाई मुख्य गरी दुईवटा रणनीतिक कोरिडोरमा विस्तार गरिएको जनाउदै हात्तीलेट – गौरीडाँडा खण्ड र गौतम होटल – ट्राफिक कार्यालय खण्डमा विस्तार भएको र वाकिरहेका स्थानहरुमा पनि जडान गर्न सकिए स्मार्ट र सुरक्षित नगरको परीकल्पनामा टेवा पुग्ने वताए । चौविसै घण्टा निगरानि गर्न सिसिटिभिको मद्धतले प्रहरीलाई धेरै सहयोग हुने वताए ।
बर्दिबासलाई प्रविधिमैत्री, सुरक्षित र आधुनिक सहरको रूपमा रूपान्तरण गर्ने यस अभियानमा वर्दिवास सुनचाँदी व्यवसायि संघ, कृषि विकास वैक वर्दिवास शाखा, वर्दिबास फर्निचर संघ, वर्दिवास मेकानिकल संघ, उत्सव कम्प्युटर वर्दिवास तथा वन टेक्नोलोजि प्रा.लि. वर्दिवासले समेत सहकार्य गरेका थिए । कुल २८ लाख लागतको परीयोजनामा नगरपालिकाले २५ लाख र वाकि संस्थाहरुले ३ लाखको सहयोग गरेको नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहयोगी हातहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा वर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष दिपक कार्कि, पुर्व कर्मचारी संघका अध्यक्ष रामकुमार कार्कि, राजनैतिक दलका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो भने संचालन विनोद ढुंगेलले गरेका थिए ।










