रौतहट। रौतहट जिल्ला अदालतमा पेसीका लागि ल्याइएका चोरी मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन्।
जिल्ला कारागार रौतहटबाट अदालतमा उपस्थित गराइएका अभियुक्त शौचालय गएको समयमा फरार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले शौचालयको भेन्टिलेसनबाट निस्किएर भागेका हुन्।
फरार अभियुक्तको पहिचान भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।
घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटले अभियुक्तको खोजीका लागि व्यापक खोजतलास अभियान सञ्चालन गरेको जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।









