जनमत पार्टीको केन्द्रीय विस्तारित बैठकमा ७० बुँदे कार्ययोजना प्रस्तुत, संगठन पुनर्जागरण महाअभियान घोषणा


चन्दन रजक। जनमत पार्टीले संगठनलाई थप सुदृढ, अनुशासित, जनमुखी तथा परिणाममुखी बनाउने उद्देश्यसहित “जनमत पुनर्जागरण महाअभियान (२०८३–२०८४)” अन्तर्गत ७० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउत ले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा वर्तमान संगठनात्मक अवस्थाको समीक्षा, चुनौतीहरूको विश्लेषण, आत्मसमीक्षा तथा आगामी निर्वाचनलाई लक्षित कार्यदिशा समेटिएको छ।

प्रतिवेदनमा जनमत पार्टीले छोटो अवधिमै राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै मधेश केन्द्रित राजनीतिक शक्तिबाट राष्ट्रिय वैकल्पिक शक्तिका रूपमा आफ्नो उपस्थिति स्थापित गर्न सफल भएको उल्लेख गरिएको छ।

स्वराज, सामाजिक न्याय, सुशासन, रोजगार, आर्थिक विकास तथा जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्दै किसान, मजदुर, युवा, उत्पीडित तथा सीमान्तकृत समुदायको आवाजका रूपमा पार्टीले भूमिका निर्वाह गरेको दाबी प्रतिवेदनमा गरिएको छ।

संगठन विस्तारका क्रममा सदस्यता अभियान, वडा तथा पालिका अधिवेशन, बूथ संगठन निर्माण, नयाँ पुस्तालाई लक्षित कार्यक्रम तथा वैचारिक आधारमा अन्य राजनीतिक दलसँग एकताको प्रयासलाई निरन्तरता दिइएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले पार्टीभित्र अनुशासन, कार्यसम्पादन मूल्याङ्कन तथा संगठन शुद्धीकरणलाई विशेष प्राथमिकतामा राखेको छ। पार्टी हितविपरीत गतिविधिमा संलग्न व्यक्तिमाथि अनुशासनात्मक कारबाही गर्ने, कार्यसम्पादनका आधारमा जिम्मेवारी निर्धारण गर्ने, सामाजिक सञ्जालमा सक्रियताको मूल्याङ्कन गर्ने तथा संगठनभित्र उत्तरदायित्वको संस्कृति विकास गर्ने नीति अवलम्बन गरिने उल्लेख गरिएको छ।

त्यसैगरी कार्यकर्ताको वैचारिक तथा राजनीतिक क्षमता अभिवृद्धिका लागि देशव्यापी प्रशिक्षण, नेतृत्व विकास, युवा स्वयंसेवक परिचालन तथा सडक, सदन र सरकार तीनै तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम जनशक्ति निर्माणमा जोड दिइएको छ।

प्रतिवेदनमा पार्टीका सबल पक्षका रूपमा स्पष्ट वैचारिक आधार, बलियो जनआधार, आन्दोलनबाट विकसित संगठन, ऊर्जाशील युवा नेतृत्व तथा वैकल्पिक राजनीतिक छविलाई उल्लेख गरिएको छ।

यद्यपि अनुशासनहीनता, गुटबन्दी, प्रचार–प्रसारमा कमजोरी, प्रशिक्षणको अभाव, आर्थिक स्रोत व्यवस्थापन, संस्थागत संरचनाको कमजोरी तथा भौगोलिक विस्तारका चुनौतीलाई संगठनका प्रमुख कमजोरीका रूपमा औंल्याइएको छ।

डा. राउतले हालै सम्पन्न निर्वाचनको परिणामलाई पराजयका रूपमा नभई संगठनात्मक कजोरीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रतिवेदनमा विगतको तुलनामा पार्टीले बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको, वडा समितिको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको तथा संगठनात्मक आधार विस्तार भएको उल्लेख गर्दै आत्मसमीक्षा र पुनर्गठनमार्फत पार्टीलाई अझ सशक्त बनाउन सकिने निष्कर्ष प्रस्तुत गरिएको छ।

यसै सन्दर्भमा “समीक्षाबाट सुधार, सुधारबाट पुनर्जागरण, पुनर्जागरणबाट विजय” भन्ने मूल नारासहित जनमत पुनर्जागरण महाअभियान सञ्चालन गर्ने घोषणा गरिएको छ।

अभियानअन्तर्गत वैचारिक पुनर्जागरण, डिजिटल सदस्यता प्रणाली, संगठन पुनर्गठन, आचारसंहिता कार्यान्वयन, आर्थिक पारदर्शिता, नियमित संगठनात्मक अडिट, जनसम्पर्क अभियान, डिजिटल प्रचार–प्रसार, किसान तथा भ्रष्टाचारविरुद्ध आन्दोलन, आर्थिक आत्मनिर्भरता र २०८४ को निर्वाचन तयारीलगायतका विषय समेटिएको ७० बुँदे कार्ययोजना प्रस्तुत गरिएको छ।

प्रतिवेदनको निष्कर्षमा जनमत पार्टीलाई थप प्रभावकारी, अनुशासित, जनमुखी तथा परिणाममुखी संगठनका रूपमा विकास गर्दै देशको प्रमुख वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ।

साथै जनताको अधिकार, सम्मान र समृद्धिका लागि अझ सुदृढ संगठन निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको