सर्वोच्चको आदेशपछि पूर्वसांसद लक्ष्मी महतो कोइरी कारागारमुक्त हुने


काठमाडौं। सर्वोच्च अदालतले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागारमुक्त गर्न आदेश दिएको छ।

न्यायाधीश श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बिहीबार अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नभए तत्काल रिहा गर्न आदेश दिएको हो।

सर्वोच्च अदालतले १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नभएको ठहर गर्दै उक्त आधारमा थुनामा राख्न नमिल्ने निष्कर्ष निकालेको छ।

थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। फैसला भएको भोलिपल्टै उनलाई पक्राउ गरी जलेश्वर कारागार पठाइएको थियो।

२०७२ साल भदौ २५ गते मधेश आन्दोलनका क्रममा हेटौँडाबाट संयुक्त राष्ट्रसंघीय मिसनसम्बन्धी परीक्षा दिएर ड्युटीका लागि महोत्तरी पुगेका सशस्त्र प्रहरीका असई थमन विकमाथि आन्दोलनकारीले आक्रमण गरेका थिए।

घाइते विकलाई जलेश्वर अस्पतालबाट थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा महोत्तरीको तत्कालीन अनैठा गाविस क्षेत्रमा एम्बुलेन्सबाट निकालेर कुटपिट गरिएको थियो। सोही घटनामा उनको मृत्यु भएको थियो।

सर्वोच्च अदालतको आदेशसँगै अन्य कुनै कानुनी आधारमा थुनामा राख्नुपर्ने अवस्था नरहेमा कोइरी रिहा हुनेछन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको