जनकपुर। उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा तोकिएको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गर्दै ७०.८८ प्रतिशत फैसला दर हासिल गरेको जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा अदालतले सार्वजनिक गरेको विवरणअनुसार असार ३१ गतेसम्म कुल ६ हजार ५२६ मुद्दामध्ये ४ हजार ६१९ मुद्दाको फैसला भएको छ भने १ हजार ८९७ मुद्दा विचाराधीन छन्।
अदालतले चालु आर्थिक वर्षका लागि ४ हजार ५५६ मुद्दा फर्छ्योट गर्ने लक्ष्य लिएको थियो। तर लक्ष्यभन्दा ६३ मुद्दा बढी फर्छ्योट गर्दै १०१.६० प्रतिशत लक्ष्य प्रगति हासिल भएको कामु मुख्य न्यायाधीश टेकनारायण कुवरले जानकारी दिए।
उनका अनुसार जिम्मेवारी सरेर आएका २ हजार २७१ र नयाँ दर्ता भएका ४ हजार २५५ गरी कुल ६ हजार ५२६ मुद्दामध्ये ७०.८८ प्रतिशत मुद्दा टुंग्याइएको हो।
कुवरले अदालतमा १८ महिनाभन्दा पुराना तथा दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका सबै मुद्दा शून्यमा झार्न सफल भएको बताए।
अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमध्ये फैसला दरमा उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०७८/७९ मा ४९.१५ प्रतिशत रहेको फैसला दर २०७९/८० मा ४४.१७ प्रतिशत, २०८०/८१ मा ७१.१३ प्रतिशत, २०८१/८२ मा ६६.०७ प्रतिशत र चालु आर्थिक वर्षमा ७०.८८ प्रतिशत पुगेको छ।
कामु मुख्य न्यायाधीश कुवरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट हुनु, पुराना मुद्दा शून्यमा झारिनु तथा फैसला दरमा सुधार आउनुलाई न्याय सम्पादनलाई प्रभावकारी बनाउने प्रयासको परिणाम भएको बताए।
उनका अनुसार समाजमा कानुनी सचेतना बढ्नु, मेलमिलापको अभ्यास विस्तार हुनु, स्थानीय तहका न्यायिक समितिको प्रभावकारी कार्यसम्पादन तथा सूचना प्रविधिमैत्री सेवा विस्तारले मुद्दा फर्छ्योट प्रक्रियालाई सहज बनाएको छ। टाढाबाट आउने कानुन व्यवसायीलाई प्रविधिको प्रयोगले सहजता दिएको र नेपाल बारसँगको समन्वय तथा लक्ष्यअनुसारको कार्यरणनीतिले पनि अदालतको कार्यसम्पादन प्रभावकारी बनेको उनले बताए।









