काठमाडौँ । भूमिहीन तथा सुकुमबासीको स्थायी व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागीहरूले सरकारले भूमिहीन तथा सुकुमबासीको समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको भन्दै असन्तुष्टि जनाए। उनीहरूले जोखिमयुक्त स्थानबाट स्थानान्तरण गरिएका परिवारलाई झन् बढी जोखिमपूर्ण क्षेत्रमा राखिएको आरोप लगाउँदै उचित व्यवस्थापनको माग गरेका छन्।
मोर्चाका अध्यक्ष नारायण परिश्रमीले सरकारले सुकुमबासीको व्यवस्थापनका विषयमा प्रतिबद्धता पूरा नगरेको र छलकपट गरेको आरोप लगाए। उनले माग सम्बोधन नभए सातै प्रदेशमा आन्दोलन विस्तार गर्ने चेतावनी दिए।
प्रदर्शनकारीहरूले सुकुमबासी व्यवस्थापनको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्। साथै, हालै पक्राउ परेका व्यक्तिहरूलाई बिना कुनै शर्त तत्काल रिहा गर्नुपर्ने माग पनि राखिएको छ।
मोर्चाका अनुसार शनिबार बिहान कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेर विस्थापितहरू प्रभावित भएपछि तथा साँझ जेन्जी अभियन्ताको गिरफ्तारीपछि आन्दोलनका कार्यक्रमलाई तीव्र बनाइएको हो।









