लालबन्दी । सर्लाहीको लालबन्दीमा एक मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास गर्दा गोली प्रहार भएको छ। घटना बुधबार राति लालबन्दी नगरपालिका–७ र ९ को सीमास्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रसाद गौतमका अनुसार, लालबन्दी नगरपालिका–७ स्थित बजारमा मोबाइल पसल सञ्चालन गर्ने लालबन्दी नगरपालिका–९ बस्तीपुर निवासी हरिप्रसाद सापकोटा राति पसल बन्द गरी एक जना साथीसँग मोटरसाइकलमा घर फर्किरहेका बेला मोटरसाइकलमै आएका अपरिचित व्यक्तिले उनीमाथि लुटपाटको प्रयास गरेका थिए ।
प्रहरीका अनुसार लुटपाटको क्रममा सामान्य धकेलाधकेल भएपछि हतियारधारी व्यक्तिले कटुवा पेस्तोलबाट गोली प्रहार गरेका थिए। घटनास्थलबाट पड्किसकेको गोलीका दुई वटा खोका बरामद गरिएको छ।
गोली प्रहार भए पनि सापकोटा र उनीसँग रहेका साथी दुवै सकुशल रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिनुभयो।
घटनापछि जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट डीएसपीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो। संलग्न व्यक्तिको खोजीका लागि बिहीबार बिहान २ बजेसम्म सर्च अपरेसन सञ्चालन गरिए पनि हालसम्म कसैलाई पक्राउ गर्न सकिएको छैन।
यस घटनापछि लालबन्दी क्षेत्रका व्यवसायी र स्थानीयवासीमा त्रास फैलिएको छ। लालबन्दी नगरपालिका–९ का वडा सदस्य विनोद तिमल्सिनाले घटनाले स्थानीयमा असुरक्षाको भावना बढाएको बताउनुभएको छ।









