चितवन- चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘ध्रुवे’को आक्रमणबाट भरतपुर महानगरपालिका–२३ मा एक आमा र उनका चार वर्षीय छोराको मृत्यु भएको छ।
शनिबार राति घरमै बसिरहेका बेला जंगलबाट बस्तीमा पसेको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो। आक्रमणबाट दुवैको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष दीपक दवाडीले जानकारी दिएका छन्।
स्थानीयका अनुसार हात्ती धपाउने प्रयासमा आशिकाका श्रीमानले आगो बाल्न खोज्दा घरमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ।
घटनापछि आक्रमणकारी हात्ती निकुञ्जको सुखीभार क्षेत्रमा फर्किएको जनाइएको छ। निकुञ्ज आसपासका स्थानीयका अनुसार ध्रुवे प्रायः सुखीभार क्षेत्रमा बस्ने गरे पनि बेला–बेलामा मेघौली तथा आसपासका बस्तीमा समेत पुग्ने गरेको छ।
यस घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। यसअघि वि।सं। २०७४ सालमा नेपाली सेनाका एक मेजरको ज्यान लिएपछि करिब नौ वर्षसम्म ध्रुवेबाट कुनै मानवीय क्षति भएको थिएन।
वि।सं। २०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको ध्रुवेले २०६९ सालसम्म १५ जनाको ज्यान लिएको थियो। विशेषगरी चितवनको माडी क्षेत्रमा यसको आतंक बढेपछि २०६९ साल पुस १ गते तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले हात्तीलाई मार्ने निर्णय गरेको थियो। नियन्त्रणका लागि ठूलो रकम खर्च गरिए पनि ध्रुवे सेनाको गोलीबाट जोगिँदै आएको थियो।
पछि केही वर्ष बेपत्ता भएको ध्रुवे पुनः निकुञ्जको सुखीभार क्षेत्रमा देखिन थालेको थियो। यसको गतिविधि निगरानी गर्न घाँटीमा रेडियो कलर जडान गरिएको थियो भने डार्ट प्रयोग गरी बेहोस बनाएर उपचार तथा माद रोक्ने औषधिसमेत दिइएको थियो।
हाल निकुञ्ज क्षेत्रमा ध्रुवे, रोनाल्डो र गोविन्दे लगायतका जंगली भाले हात्ती रहेका छन्। निकुञ्ज प्रशासनले घटनाबारे थप अनुसन्धान गर्नुका साथै प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता बढाएको जनाएको छ।









