प्रतिशोधको राजनीति गर्दैनौँ, एकताको सन्देश दिन्छौँ स् रवि लामिछाने
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने ले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन्। चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्राप्त जनमतलाई आत्मसात् गर्दै कसैप्रति पनि प्रतिशोध नराखी देश र जनताको पक्षमा काम गर्ने बताएका हुन्।
उनले राजनीतिक दलहरूबीच देखिएका वैमनस्यता अन्त्य गर्दै सहकार्य र सहयोगको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले महाधिवेशनमार्फत एकता र संगठनात्मक मजबुतीको सन्देश प्रवाह गरिने बताए।
पुराना राजनीतिक दलहरूले भोगेका अनुभवबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै लामिछानेले गुटरहित ढङ्गले अघि बढ्न सके रास्वपालाई कुनै शक्तिले पराजित गर्न नसक्ने दाबी गरे। “रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरू कसैको तागत छैन,” उनले भने, “गुट र उपगुटले दिने फल विषालु हुन्छ। त्यस्तो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने अवस्था आउँछ। हामी अहिले कस्तो बीउ रोप्ने भन्ने मोडमा छौँ।”
रास्वपा देशको साझा राजनीतिक मञ्चका रूपमा स्थापित हुँदै गएको दाबी गर्दै उनले पछिल्लो समय गैरराजनीतिक क्षेत्रका व्यक्तिहरू पनि राजनीतिप्रति आकर्षित हुन थालेको बताए। उनले नेपाली कांग्रेस र नेकपा ९एमाले० भित्र देखिएका समस्याहरू समाधान गर्न सुझाव दिँदै ती दलभित्रको संकटले मुलुकलाई समेत असर पार्न सक्ने बताए।
“हामीले इतिहासलाई जवाफ दिनुपर्नेछ। राष्ट्रिय राजनीति राम्रो हुन हाम्रो पार्टी मात्रै राम्रो भएर पुग्दैन, अन्य दलहरू पनि सुध्रिनुपर्छ,” उनले भने, “कांग्रेस र एमालेभित्र देखिएका अप्ठ्याराहरू समाधान भएनन् भने देशलाई समस्या पर्छ।”
सभापति लामिछानेले पूर्वसहमतिअनुसार नै सरकार अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले तय गरिएका लक्ष्यअनुसार काम गरिरहेको बताए। उनले फुटबलको उदाहरण दिँदै सरकारको नेतृत्व र सफलताको मुख्य जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा रहेको बताए।
“सरकार सञ्चालन गर्ने पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ। गोल हान्ने जिम्मा उहाँलाई नै छ। झुक्किएर मेरो खुट्टामा बल आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पुर्याउने जिम्मा मेरो हो,” उनले भने।