काठमाडौं — नेपाल विद्यार्थी संघ नेविसंघ ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा व्यवस्थापन, पुनर्योग प्रक्रिया तथा उत्तरपुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै तत्काल छानबिन र सुधारको माग गरेको छ।
नेविसंघ अध्यक्ष करुणा कटुवालले जारी गरेको विज्ञप्तिमा पर्याप्त परीक्षण र प्रमाणीकरण नगरी हतारमा डाटा प्रविष्टि गर्दा हजारौं विद्यार्थीको वास्तविक शैक्षिक मूल्यांकन प्रभावित भएको दाबी गरिएको छ।
विज्ञप्तिमा पुनर्योगपछि सार्वजनिक नतिजामध्ये करिब ५।६३ प्रतिशत अर्थात् १ हजार ५५९ भन्दा बढी विद्यार्थीको ग्रेडमा उल्लेख्य परिवर्तन देखिएको उल्लेख छ। केही विद्यार्थीको उत्तरपुस्तिकामा अंक प्रविष्टिमा त्रुटि भई ७० अंकको सट्टा ७ अंक मात्र प्रविष्ट भएको तथा सुरुमा अनुत्तीर्ण भनिएका विद्यार्थीले पुनर्योगपछि २।० जीपीए प्राप्त गरेको उदाहरणसमेत दिइएको छ।
त्यस्तै, पुनर्योगका लागि आवेदन दिएका करिब १ हजार विद्यार्थीको उत्तरपुस्तिका नै फेला नपरेको कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको नेविसंघको दाबी छ।
नेविसंघले उत्तरपुस्तिका तत्काल खोजी गरी रोकिएका नतिजा सार्वजनिक गर्न, डाटा प्रविष्टि तथा अंक मिलान प्रणाली सुधार गर्न, जिम्मेवार अधिकारीमाथि छानबिन गरी कारबाही गर्न तथा प्रभावित विद्यार्थीलाई वैकल्पिक परीक्षा र भर्ना अवसर सुनिश्चित गर्न माग गरेको छ।
साथै पुनर्योग शुल्क फिर्ता तथा आवश्यक राहत व्यवस्था गर्न पनि संघले माग गरेको छ। नेविसंघले माग सम्बोधन नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।



















