काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापान राष्ट्रिय फुटबल टोली ले ट्युनिसिया राष्ट्रिय फुटबल टोली विरुद्ध पहिलो हाफमै २–० को अग्रता लिएको छ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको जापानका लागि ड्याची कामाडा र आयुसे उएडाले गोल गरेका हुन्। चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए भने ३१ औँ मिनेटमा उएडाले उत्कृष्ट लो–स्ट्राइकमार्फत दोस्रो गोल थपे।
पहिलो हाफसम्मको प्रदर्शनका आधारमा जापान खेलमा पूर्ण नियन्त्रणमा देखिएको छ। यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापानले आज जित निकालेमा अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाउनेछ।
यता, पहिलो खेलमा स्विडेनसँग पराजित ट्युनिसिया लगातार दोस्रो हार नजिक पुगेसँगै समूह चरणबाटै बाहिरिने जोखिममा परेको छ।
जापानले दोस्रो हाफमा अग्रता जोगाउँदै नतिजा आफ्नो पक्षमा पार्न प्रयास गर्नेछ भने ट्युनिसियाका लागि खेलमा फर्किन कठिन चुनौती देखिएको छ।


















