बैतडीमा यात्रुवाहक बस दुर्घटना ः एक जनाको मृत्यु, १० जना घाइते


५  असार, बैतडी । बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा बुधबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४६ नम्बरको बस बुधबार साँझ करिब ५ः४० बजे दशरथचन्द नगरपालिका–४ स्थित साईलकमा अनियन्त्रित भई सडकबाट करिब २५ देखि ३० मिटर तल खसेको हो।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका–६ निवासी ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको नेतृत्वमा २५ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो।

बसमा चालकसहित १२ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था मध्यम रहेको बताइएको छ।

घाइते हुनेहरूमा लक्ष्मी ऐरी ९२७०, हेम विक्रम जोशी ९९८०, पूर्ण देवी जोशी ९६००, पूजा कार्की ९२१०, ललिता लावड ९२००, विजय सिंह थापा, जानकी लावड ९३२०, लक्ष्मी साउद ९३००, कर्ण देव भट्ट ९५२० तथा कविराज भट्ट ९३५० रहेका छन्। उनीहरूमध्ये केहीको टाउको, हात तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालक पाटन नगरपालिका–८ निवासी ३७ वर्षीय केशव सिंह महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक सकुशल रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको