महोत्तरी। महोत्तरीको मनरा शिसवा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर अधिवेशन नेतृत्व चयनको विषयमा विवादित बन्दा झडप भएको छ। आइतबार आयोजित अधिवेशनका क्रममा दुई पक्षबीच भएको कुटाकुटमा एक जना कार्यकर्ता गम्भीर घाइते भएका छन् भने अन्य चार जना सामान्य घाइते भएका छन्।
गम्भीर घाइते हुनेमा मनरा शिसवा नगरपालिका-८ निवासी गोविन्द कापर रहेका छन्। झडपका क्रममा उनको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि जलेश्वरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
रास्वपाले आगामी महाधिवेशनको तयारीस्वरूप देशभर नगर अधिवेशन सञ्चालन गरिरहेका बेला मनरा शिसवामा नेतृत्व चयनको विषयलाई लिएर विवाद चर्किएको हो। अधिवेशनमा एक पक्षले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने अडान राखेको थियो भने अर्को पक्षले सहमतिका आधारमा वर्तमान कार्यसमितिलाई निरन्तरता दिनुपर्ने प्रस्ताव अघि सारेको बताइएको छ।
घाइते कापरले वर्तमान नगर सभापति रोमन सिंहले पुनः नेतृत्वमा निरन्तरता खोज्दै निर्वाचन प्रक्रियाबाट पछि हट्न दबाब दिएको आरोप लगाएका छन्। निर्वाचनको पक्षमा उभिएका कार्यकर्तामाथि हातपात भएपछि अवस्था नियन्त्रणबाहिर गएको उनको दाबी छ।
स्थानीय कार्यकर्ताहरूका अनुसार पार्टीभित्र लामो समयदेखि बढ्दै गएको असन्तुष्टि र शक्ति संघर्षका कारण अधिवेशन तनावग्रस्त बनेको थियो। नेतृत्व चयनको विषयमा सहमति जुट्न नसकेपछि विवाद चर्किँदै झडपको अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।
घटनाबारे प्रतिक्रिया लिन वर्तमान नगर सभापति रोमन सिंहसँग सम्पर्क गर्न खोजिए पनि उनको प्रतिक्रिया प्राप्त हुन सकेन।
महोत्तरीमा रास्वपाभित्र नेतृत्व चयनलाई लिएर विवाद देखिएको यो पहिलो घटना भने होइन। यसअघि जलेश्वर नगर अधिवेशन पनि नेतृत्व चयन प्रक्रियाकै विवादका कारण प्रभावित भएको थियो।
महाधिवेशनको मुखमा संगठन सुदृढीकरण र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिएको दाबी गरिरहेको रास्वपाका लागि मनरा शिसवाको यो घटनाले चुनौती थपेको राजनीतिक वृत्तको टिप्पणी छ। नगर अधिवेशनमै झडप र घाइते हुने अवस्था सिर्जना भएपछि पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास र नेतृत्व व्यवस्थापन क्षमतामाथि प्रश्न उठ्न थालेको छ। -NewsBureau Nepal



















