१५ जेठ,काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/ ८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यस्तै अनुदानतर्फ ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री वाग्लेले बताए ।
त्यसैगरी बजेट स्रोत व्यवस्थापनका लागि आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने लक्ष्य सरकारले राखेको छ ।
सरकारले आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाएको छ । आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने तथा मूल्यवृद्धिदर ६ प्रतिशतमुनि कायम गर्ने लक्ष्यसमेत सरकारले अघि सारेको छ ।
अर्थमन्त्री वाग्लेले आर्थिक गतिविधिलाई चलायमान बनाउने, लगानीको वातावरण सुधार गर्ने तथा विकास निर्माणका कार्यलाई तीव्रता दिने उद्देश्यले बजेट केन्द्रित गरिएको बताएका छन् ।



















