१५ जेठ,काठमाडौं। सरकारले सरकारी कर्मचारीको तलब तथा सुविधामा २१ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलब संरचनामा सुधार गरिएको जानकारी दिएका हुन् ।
अर्थमन्त्री वाग्लेका अनुसार कर्मचारीको शुरु स्केलमा १० प्रतिशत वृद्धि गरिनेछ भने थप १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ । साथै, हाल प्रदान हुँदै आएको महँगी भत्तालाई पनि निरन्तरता दिइने उनले बताए ।
सरकारले लामो समयदेखि कर्मचारीको तलब पुनरावलोकन नभएको अवस्थालाई ध्यानमा राख्दै नयाँ व्यवस्था ल्याएको जनाएको छ । अर्थमन्त्री वाग्लेले विगत चार वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि नभएको र यसबीचमा १७।३ प्रतिशत महँगी बढिसकेको उल्लेख गरे ।
उनले बढ्दो महँगीका कारण कर्मचारीको जीवनयापनमा परेको असरलाई मध्यनजर गर्दै तलब तथा सुविधा वृद्धि गरिएको स्पष्ट पारे ।
सरकारको यस घोषणालाई कर्मचारी वृत्तमा सकारात्मक रूपमा हेरिएको छ । नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुने जनाइएको छ ।



















