नवनियुक्त मन्त्री थापालाई महोत्तरीका होटल व्यवसायीद्वारा बधाई तथा शुभकामना


बर्दीबास, महोत्तरी – नारायण घिमिरे। मधेश प्रदेश सरकारका नवनियुक्त श्रम तथा यातायात मन्त्री शारदादेवी थापालाई होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। मन्त्री थापाको आफ्नै गृहनगर बर्दीबासमा एक विशेष कार्यक्रमको आयोजना गरी सङ्घले स्वागत तथा सम्मान गरेको हो।

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गौतमले आर्थिक मन्दी र श्रमिकको अभावमा चरम धारासायी अवस्थामा पुगेको होटल तथा पर्यटन बजारलाई पुनरुत्थान गर्न ‘स्वदेशी उद्योगमा स्वदेशी श्रमिक’ को अवधारणा अघि सार्नुपर्ने बताउनुभयो। उहाँले अन्तर-प्रदेश स्तरीय सडक सञ्जालको विकास गर्न मन्त्री थापालाई सुझाव समेत दिनुभयो। त्यस्तै, बर्दीबास उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष विष्णुबहादुर खड्काले मधेश प्रदेशको दिगो विकासका लागि सबैखाले पर्यटन बजारको प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै त्यसमा श्रम तथा यातायात मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष दीपेन्द्र पराजुली लगायतका वक्ताहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् मन्त्री थापाले व्यवसायीहरूले उठाएका मुद्दाहरूमा मधेश प्रदेश सरकार र आफ्नो मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। उहाँले आफ्नो कार्यकालमा मन्त्रालयको तर्फबाट हुन सक्ने सबैखाले जनहितकारी कार्यहरू प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

होटल तथा पर्यटन व्यवसायीहरूलाई इङ्गित गर्दै मन्त्री थापाले भन्नुभयो, “यहाँहरूले दिनुभएको हौसला र शुभकामनाले मलाई थप जिम्मेवार मात्र बनाएको छैन, काम गर्ने नवीन ऊर्जा समेत थपेको छ।” उहाँले ऊर्जा थपिदिने सम्पूर्ण होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी परिवार, आफुलाई मायाँको चिनो प्रदान गर्नुहुने गौतम होटल र गुञ्ज होटल परिवारलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो।

सङ्घका महासचिव नारायण घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नेकपा एमाले राष्ट्रिय सल्लाहकार समितिका पूर्व सदस्य सरिता ढुङ्गाना, मधेश प्रदेश कमिटी सदस्यहरू सन्त परियार र सरस्वती चौधरी, जिल्ला कमिटी सदस्य सम्झना शर्मा तथा युवा सङ्घका सदस्य तेजबहादुर खड्का (सागर) को उपस्थिति रहेको थियो। कार्यक्रममा बर्दीबास उद्योग वाणिज्य सङ्घका निवर्तमान महासचिव उत्तम श्रेष्ठ, निवर्तमान कोषाध्यक्ष सन्तोष श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका उपाध्यक्षद्वय अमित बस्नेत र मीनबहादुर थापा, सचिव पर्मेश्वर महतो, कोषाध्यक्ष विमल भण्डारी, तथा सदस्यहरू हर्कबहादुर दाहाल (राजकुमार) र कुबेर घिमिरे लगायत स्थानीय उद्योगी एवम् होटल व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

होटल गुञ्जको सभाहलमा आयोजित कार्यक्रमको समापन गर्दै सभाध्यक्ष गुञ्जबहादुर कार्कीले नवनियुक्त मन्त्री थापालाई सफल कार्यकालको शुभकामना दिँदै उपस्थित सम्पूर्ण महानुभावहरूमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको