वीरगन्ज। राजेशमान सिंह विरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो।
पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक का अनुसार मेयर सिंह, सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी ४२ वर्षीया रिता भट्टराई र वीरगन्ज-३ का तत्कालीन पञ्जिकाधिकारी भिखारी राय विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा डीएसपी हरिबहादुर बस्नेत ले अदालतबाट जारी पक्राउ पुर्जी मंगलबार साँझ प्राप्त भएको र तीनै जनालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।
अदालतका अनुसार मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठ लाई आफ्नी छोरी बनाएर फर्जी जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा लिखतसम्बन्धी कसुर मुद्दा दायर भएको हो। यद्यपि मेयर सिंहले रिता भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन्।
सरकारी वकिल कार्यालयका अनुसार वीरगन्ज-३ निवासी लियाकत अली ले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात तथा नागरिकता किर्तेसम्बन्धी उजुरी दिएका थिए।
मुलुकी अपराध संहिता २०७४ अन्तर्गत किर्ते कागजसम्बन्धी कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबीसहित ३५ दिने पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ।
















