१० जेष्ठ, महोत्तरी – मिथलेश सिंह। महोत्तरी चेम्बर अफ कमर्सको आयोजनामा आइतबार बर्दिवास क्षेत्रमा शान्ति, सुरक्षा, व्यवसायिक वातावरण तथा नागरिक-प्रहरी सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले इलाका प्रहरी कार्यालय बर्दिवासका नवआगन्तुक प्रहरी नायब उपरीक्षक (डीएसपी) गुरु प्रसाद तिम्सिना लाई स्वागत तथा सम्मान गरिएको छ।
कार्यक्रम बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले पछिल्लो समय मधेश प्रदेशमा बढ्दो लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। उनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रहरी, स्थानीय सरकार, व्यवसायी तथा नागरिकबीच सहकार्य अपरिहार्य रहेको बताए।
त्यसैगरी महोत्तरी चेम्बर अफ कमर्स का अध्यक्ष सुधिर अग्रवाल ले व्यवसायीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै बजार क्षेत्रमा शान्ति, सुरक्षा र व्यवसायमैत्री वातावरण कायम गर्न प्रहरी प्रशासनसँग समन्वय अझ प्रभावकारी बनाउनुपर्ने बताए।
नवआगन्तुक डीएसपी तिम्सिनाले बर्दिवास क्षेत्रको शान्ति सुरक्षा सुदृढ गर्न समुदाय-प्रहरी साझेदारीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले अपराध नियन्त्रण, लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा व्यवसायिक सुरक्षा सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए।
कार्यक्रममा माननीय प्रमोद महतो, पत्रकार सञ्जालका अध्यक्ष गोपाल ज्यू, चेम्बर अफ कमर्सका पदाधिकारी, उद्योगी, व्यवसायी तथा पत्रकारहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रमको अवसरमा डीएसपी तिम्सिनालाई मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। सहभागीहरूले सुरक्षित, शान्त र व्यवसायमैत्री बर्दिवास निर्माणका लागि प्रहरी र समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिएका थिए।
















