८ जेष्ठ, बर्दिबास – अनिशा पौडेल। मधेश प्रदेशमा बहुक्षेत्रीय पोषण योजना (MSNP III) को प्रभावकारी कार्यान्वयनलाई थप सुदृढ बनाउन नागरिक समाज संस्थाहरू (CSOs) का लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम शुक्रबार बर्दिबासमा सम्पन्न भएको छ।
Water Aid Nepal, ACF Nepal, SOCHAI तथा BWSN को संयुक्त आयोजनामा सञ्चालित उक्त तालिम CHANGE परियोजना अन्तर्गत आयोजना गरिएको हो। परियोजनालाई युरोपियन युनियनको आर्थिक सहयोग रहेको आयोजकले जनाएको छ।

तालिमको मुख्य उद्देश्य बहुक्षेत्रीय पोषण योजना तथा पोषणमैत्री स्थानीय शासन निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा स्थानीय तह र नागरिक समाज संस्थाबीच समन्वय, सहकार्य तथा सहभागिता अभिवृद्धि गर्नु रहेको बताइएको छ।
कार्यक्रममा धनुषा र महोत्तरी जिल्लाका ९ वटा स्थानीय तहका प्रतिनिधि तथा १६ वटा नागरिक समाज संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागी स्थानीय तहहरूमा जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, बर्दिबास नगरपालिका, गौशाला नगरपालिका, औरही नगरपालिका, मटिहानी नगरपालिका, लोहरपट्टी नगरपालिका र जलेश्वर नगरपालिका रहेका थिए।
तालिमका क्रममा स्थानीय तहको पोषण अवस्थाको विश्लेषण, जवाफदेहिता सुनिश्चित गर्ने उपाय, पोषणमैत्री स्कोरकार्ड निर्माण तथा प्रयोग, साथै स्थानीय स्तरमा कार्ययोजना निर्माणसम्बन्धी विषयमा विस्तृत सहजीकरण गरिएको थियो।
बागमती सेवा समाजका कार्यकारी निर्देशक रामकृष्ण रायले सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका तथा सीमान्तकृत समुदायलाई गुणस्तरीय पोषण सेवामा पहुँच विस्तार गर्न नागरिक समाज संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए। उनले स्थानीय सरकार र नागरिक समाजबीचको समन्वयले पोषणसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
तालिमको सहजीकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दिपेश केसी तथा बहुक्षेत्रीय पोषण विज्ञ ज्ञानेन्द्र दवाडीले गरेका थिए।
बर्दिबासस्थित विनायक होटलमा आयोजित उक्त तालिमले स्थानीय तह र नागरिक समाज संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै पोषणमैत्री कार्यक्रम सञ्चालनमा सकारात्मक योगदान पुग्ने अपेक्षा आयोजकको रहेको छ।
















