सम्झौताभन्दा बढी उत्खनन गरेपछि ठेकेदार कम्पनीलाई लाखौंको जरिवाना


सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका-१७ रानीगन्जस्थित कालिन्जोर खोलामा सम्झौताविपरीत अन्धाधुन्ध गिट्टी-बालुवा उत्खनन गरिएको पाइएको छ।

स्थानीयले अनियन्त्रित उत्खनन भइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि लालबन्दी नगरपालिकाले प्राविधिक टोली खटाएर उत्खनन क्षेत्रको नापजाँच गरेको थियो।

नापजाँचका क्रममा सम्झौताभन्दा १९ हजार ४२८.२४ घनमिटर बढी नदीजन्य पदार्थ उत्खनन गरिएको पुष्टि भएपछि ठेक्का लिएको कम्पनीलाई जरिवाना तिराइएको नगरपालिकाले जनाएको छ।

कालिन्जोर खोलाको उत्खनन ठेक्का सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित कुण्डलिनी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले एक करोड ८० लाख ८० हजार २२६ रुपैयाँमा पाएको थियो।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलका अनुसार सम्झौताअनुसारको परिमाणभन्दा बढी उत्खनन भएको पाइएपछि जेठ ४ गतेदेखि उत्खनन कार्य बन्द गरिएको हो।

नगरपालिकाको राजस्व शाखाका प्रमुख गोपाल थापाका अनुसार कम्पनीलाई ४४ लाख ४१ हजार ७५० रुपैयाँ ६९ पैसा जरिवाना तिराइएको छ।

अख्तियारको टोलीले समेत एक साताअघि स्थलगत निरीक्षण गरेको थियो। त्यसपछि नगरपालिकाले आफ्नै प्राविधिक टोलीमार्फत उत्खनन क्षेत्रको नापजाँच गराएको जनाएको छ।

स्थानीयले भने पालिकाले समयमै अनुगमन नगर्दा मिलेमतोमा अत्यधिक उत्खनन भएको आशंका गरेका छन्। उत्खननका कारण वन क्षेत्रमा कटान सुरु हुनुका साथै आगामी बर्खामा बस्ती जोखिममा पर्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको