महोत्तरीमा नवविवाहिताको शंकास्पद मृत्यु, माइती पक्षको दाइजोका कारण हत्या भएको आरोप


महोत्तरी। महोत्तरीको सम्सी गाउँपालिका-१ पर्सादेवाडमा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएपछि माइती पक्षले दाइजोको निहुँमा हत्या गरिएको आरोप लगाएका छन्।

सर्लाहीको हरिपुर्वा नगरपालिका-७ बसन्तपुर निवासी रामज्ञान मण्डलकी छोरी रंजिता मण्डलको विवाह २०८२ फागुन १४ गते महोत्तरीको सम्सी गाउँपालिका-१ पर्सादेवाड निवासी विजय मण्डलका छोरा रमेश मण्डलसँग भएको थियो। विवाह भएको ८३ दिन नपुग्दै रंजिताको मृत्यु भएको हो।

मंगलबार साँझ रंजिताले पासो लगाएर आत्महत्याको प्रयास गरेको भन्दै उनका श्रीमान्ले उनलाई तत्काल उपचारका लागि रामगोपालपुर नगरपालिका-९ स्थित जानकी एकेडेमिक अस्पताल पुर्‍याएका थिए। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

तर माइती पक्षले भने रंजिताले आत्महत्या नगरेको र ससुराली पक्षले हत्या गरेको आरोप लगाएका छन्। मृतककी आमा कौशिल्यादेवी मण्डलका अनुसार केही दिनअघि छोरीसँग फोनमा कुरा हुँदा ससुराली पक्षले माइतबाट भैंसी दाइजोमा ल्याउन दबाब दिएको बताएकी थिइन्।

उनले विवाहका क्रममा नगद १० लाख रुपैयाँसहित सुन तथा अन्य सामग्री दाइजोमा दिइसकेको अवस्थामा थप दाइजो नदिने बताएपछि छोरीमाथि कुटपिट हुन थालेको र अन्ततः हत्या गरिएको आरोप लगाइन्।

घटनाबारे सोधपुछका लागि मृतकका श्रीमान् रमेश मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए।

उनका अनुसार घटना हत्या हो वा आत्महत्या भन्ने विषय पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै स्पष्ट हुने छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ। यता, महिलाको मृत्यु भएपछि ससुराली पक्षका अन्य सदस्य भने सम्पर्कविहीन रहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको