महोत्तरी। बर्दिबास नगरपालिका-३ स्थित श्री जनता माध्यमिक विद्यालय गौरीडाँडाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा तुलसीप्रसाद ढुंगाना निर्विरोध चयन हुनुभएको छ।
मंगलबार आयोजित अभिभावक भेलाबाट सहमतिका आधारमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो। भेला वडा अध्यक्ष विराट बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो।
विद्यालयका प्रधानाध्यापक रामसकल महतोले सञ्चालन गर्नुभएको कार्यक्रममा बर्दिबास नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख एवं विद्यालय व्यवस्थापन समिति गठन संयोजक रेवतीरमण पराजुली, नगर शिक्षा अधिकृत रोमन निरौला, विद्यालयका संस्थापक आनन्दप्रसाद ढुंगाना लगायतको उपस्थिति रहेको थियो।
भेलाबाट सहमतिय प्रक्रियामार्फत पुरुषतर्फ तुलसीप्रसाद ढुंगाना र ईश्वरप्रसाद चौलागाईं तथा महिलातर्फ डोमा शाही बिष्ट र शर्मिला रिजाल चयन भएका थिए।
चयन भएका चार सदस्य र वडा प्रतिनिधिका रूपमा रहेका वडा अध्यक्ष विराट बिष्टबीचको छलफलपछि तुलसीप्रसाद ढुंगानाको अध्यक्षतामा पाँच सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो।
समितिको सदस्यमा शर्मिला रिजाल, डोमा शाही बिष्ट, ईश्वरप्रसाद चौलागाईं तथा वडा प्रतिनिधिका रूपमा वडा अध्यक्ष विराट बिष्ट रहनुभएको छ।
विद्यालय व्यवस्थापन समितिको अघिल्लो कार्यकाल २०८२ चैत १६ गते समाप्त भएको करिब ५० दिनपछि नयाँ समिति गठन गरिएको हो।











