बर्दिबासमा पत्रकार ललन मण्डलमाथि धम्की र त्रास सिर्जना, प्रेस जनमत संघको कडा आपत्ति


काठमाडौँ। प्रेस जनमत संघका केन्द्रीय महासचिव ललन मण्डलमाथि ज्यान मार्ने धम्की, दुर्व्यवहार तथा समूहगत रूपमा त्रास सिर्जना गरिएको घटनाप्रति संघले गम्भीर आपत्ति जनाएको छ। संघले उक्त घटनालाई “पत्रकारितामाथिको सुनियोजित आक्रमण” भन्दै कडा शब्दमा निन्दा तथा भर्त्सना गरेको छ।

संघका अनुसार बर्दिबास नगरपालिका-१४ निवासी कौशल महतोले अज्ञात नम्बरबाट फोन गरी “जहाँ भए पनि मार्छु, कहाँ छस् भन्” जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। साथै, उनी केही व्यक्तिसहित पत्रकारको कार्यस्थलमै पुगेर डर–त्रास सिर्जना गर्ने प्रयास गरेको आरोप पनि लागेको छ।

प्रेस जनमत संघले स्पष्ट पारेको छ कि समाचार सम्प्रेषणकै कारण पत्रकारलाई धम्क्याउने, दबाब दिने तथा कार्यस्थलमै पुगेर आतंक फैलाउने कार्य लोकतन्त्र र कानुनी शासनमाथिको प्रत्यक्ष चुनौती हो। संघका अनुसार, “यो केवल एक व्यक्तिमाथिको घटना होइन, सम्पूर्ण प्रेस जगतमाथिको आक्रमण हो।”

संघले सम्बन्धित निकायलाई तत्काल आरोपित व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाई पक्राउ गर्न र निष्पक्ष छानबिन गर्न माग गरेको छ। साथै, दोषीमाथि कडा कारबाही नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ।

संघका केन्द्रीय अध्यक्ष अवधेश कुमार झाले चेतावनी दिँदै भनेका छन्, “प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेप सह्य हुँदैन। दोषीमाथि कारबाही नभए सशक्त प्रतिवाद हुनेछ।”

यसैबीच, प्रेस जनमत संघले सम्पूर्ण पत्रकार, नागरिक समाज तथा मानवअधिकारकर्मीलाई प्रेस स्वतन्त्रताको रक्षा र पत्रकार सुरक्षाका पक्षमा एकजुट हुन आह्वान गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको