आमसञ्चार प्राधिकरणको कार्यशैलीप्रति पत्रकार महासंघको कडा आपत्ति


जनकपुर। नेपाल पत्रकार महासंघ मधेश प्रदेशअन्तर्गतका आठवटै जिल्ला शाखाहरूले आमसञ्चार प्राधिकरण जनकपुरधामको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्।

मंगलवार जारी संयुक्त विज्ञप्तिमा महासंघले सञ्चारमाध्यम तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दा सरोकारवालासँग प्रभावकारी समन्वय नगरिएको आरोप लगाएको छ। विज्ञप्तिमा प्राधिकरणले आठै जिल्लासँग समन्वय गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

महासंघले महोत्तरीको बर्दिवास मा वैशाख १५ गतेदेखि सञ्चालन हुन लागेको स्थानीय तहमा पत्रकारिता प्रशिक्षणका लागि प्रशिक्षक तयार पार्ने तीनदिने आवासीय तालिमलाई उदाहरणका रूपमा प्रस्तुत गरेको छ। प्रारम्भमा जिल्ला शाखाहरूबाट प्रशिक्षक पत्रकारहरूको नामावली माग गरिए पनि त्यसपछि महासंघसँग कुनै सार्थक छलफल नगरी अलग्गै सूचना प्रकाशित गरेर आवेदन आह्वान गरिएको भन्दै संस्थागत समन्वयको मर्मविपरीत काम भएको ठहर गरिएको छ।

त्यस्तै, चैत १७ गते आठै जिल्लाबाट पाँच-पाँच जनाको नाम मागिएपछि पनि चैत २५ गते पुनः बेग्लै सूचना निकालेर विवरण पेश गर्न आग्रह गरिएकोप्रति महासंघले आपत्ति जनाएको छ। यस्तो कार्यले समन्वय अभाव मात्र नभई महासंघको गरिमा र भूमिकामाथि प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले यस्ता “गैरजिम्मेवार र असंवेदनशील” कार्यशैलीप्रति कडा विरोध जनाउँदै विगतमा सञ्चालन गरिएका एआईसम्बन्धी तालिमहरूमा समेत स्थानीय पत्रकारहरूको आवश्यकता र सन्दर्भ बेवास्ता गरिएको अनुभव दोहोरिनु चिन्ताजनक भएको जनाएको छ।

आगामी दिनमा यस्ता कार्यक्रमहरू योजना बनाउँदा र कार्यान्वयन गर्दा जिल्ला शाखासँग अनिवार्य रूपमा समन्वय र सहकार्य गर्न माग गरिएको छ। साथै प्रदेश सरकारबाट विनियोजित बजेटको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

संयुक्त विज्ञप्तिमा सिरहाका मनोज बनैता, धनुषाका पुरन साह, सर्लाहीका ओमप्रकाश ठाकुर, महोत्तरीका महेशकुमार दास, बाराका रमेश सुवेदी, रौतहटका सञ्जय काकी, पर्साका ओमप्रकाश खनाल र सप्तरीका श्रवण देवले हस्ताक्षर गरेका छन्। विज्ञप्तिमा यस्ता गतिविधि तुरुन्त सच्याउन आग्रह गर्दै महासंघको सहभागिता, सम्मान र सहकार्यबिना सञ्चार क्षेत्रको दिगो विकास सम्भव नहुने स्पष्ट पारिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको