बर्दिवास। बर्दिवास नगरपालिकाले नगर क्षेत्रभित्रका सडक, फुटपाथ तथा नाला अतिक्रमण हटाउन ७ दिने अल्टिमेटम जारी गरेको छ।
नगरपालिकाद्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार पूर्व-पश्चिम राजमार्ग, बर्दिवास-सिन्धुली सडक, औरही जाने सडक, बर्दिवास चोकदेखि साझा संस्था बजार हुँदै जनता क्याम्पस जाने मुख्य मार्ग, बर्दिवास चोकदेखि उत्तर बरगाछी तथा गाल्टार जाने बाटो, दक्षिणतर्फ पावन मिथिला होटलदेखि नव क्षितिज कलेज बाटो हुँदै-बर्दिवास अस्पताल जाने सडक, रक्षा ज्वेलर्सदेखि दक्षिण हाट बजार जाने मार्गलगायतका स्थानमा अतिक्रमण हटाउन निर्देशन दिइएको हो।
सूचनामा नाला तथा फुटपाथ अतिक्रमण गरी राखिएका फलफूल, तरकारी, ठेला, पसल तथा अन्य अव्यवस्थित व्यापार–व्यवसायहरू हटाई ७ दिनभित्र अन्यत्र व्यवस्थापन गर्न आग्रह गरिएको छ। साथै फुटपाथभित्र पर्ने घरटहरा तथा अस्थायी संरचनासमेत हटाउन भनिएको छ।
नगरपालिकाले तोकिएको समयभित्र अतिक्रमण नहटाएमा बाध्य भएर आफैं हटाउने र त्यसक्रममा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने चेतावनी दिएको छ।










