धनुषा। धनुषामा जबर्जस्ती करणीको घटनामा पीडित एक महिलाले न्याय नपाउनुका साथै पारिवारिक साथसमेत गुमाउँदा आफू बिचल्लीमा परेको बताएकी छन्।
धनुषाको सबैला नगरपालिका-३ की ती महिलाले गत पुस ६ गते साँझ आफू जबर्जस्ती करणीमा परेको र चैत १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको जानकारी दिएकी छन्। तर जाहेरी दिएको लामो समय बितिसक्दा पनि आरोपित पक्राउ नपरेको भन्दै उनले दुखेसो व्यक्त गरेकी छन्।
पीडितका अनुसार जनकपुरधाम-४, मुरली चोक क्षेत्रमा ‘प्रसाद’ भन्दै दिएको खाद्यवस्तु सेवन गरेपछि आफू अचेत भएको र सोही अवस्थाको फाइदा उठाउँदै आरोपितले दुर्व्यवहार गरेको आरोप छ। जाहेरीमा सबैला नगरपालिका–३ का अमिस महरालाई आरोपितका रूपमा उल्लेख गरिएको छ।
जाहेरी अनुसार आरोपितले घटनाको भिडियो बनाएको र सार्वजनिक गर्ने तथा परिवारलाई हानि पुर्याउने धम्की दिँदै पटक-पटक दुर्व्यवहार गरेको उल्लेख छ।
घटनापछि श्रीमान्ले गलत बुझाइका कारण घरबाट निकालिदिएकाले हाल आफू माइतमा बस्दै आएको पीडितको भनाइ छ। उनले आरोपित खुला रूपमा हिँडडुल गरिरहे पनि प्रहरीले पक्राउ नगरेको गुनासो गरेकी छन्।
पीडितले दोषीमाथि शीघ्र कारबाही गर्न तथा आफूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेकी छन्।
– गोरखापत्र अनलाइन









