बर्दिबासमा साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ८०औँ शृङ्खला सम्पन्न


बर्दिबास, वैशाख १२
बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ८०औँ नियमित साहित्यिक शृङ्खला शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानकी अध्यक्ष यशोदा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो ।

प्रतिष्ठानका सदस्य जीवनस्पर्शीले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष केदार गौतम बर्दिबास उद्योग वाणिज्य सङ्घ, महोत्तरीको महासचिव पदमा निर्वाचित भएको अवसरमा सम्मान गरिएको थियो । साथै, ‘जेन्जीको ज्वाला’ प्रबन्ध काव्यका सर्जक प्रेम घिमिरे ‘अग्नि कवच’लाई पनि खादा लगाएर सम्मान गरिएको थियो । दुबै स्रष्टालाई आगामी दिनमा अझ सक्रिय रूपमा साहित्य क्षेत्रमा योगदान पुर्‍याउन प्रेरणा मिलोस् भन्ने कामना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी स्रष्टाहरूले आफ्ना सिर्जना वाचन गर्नुका साथै लेखन प्रक्रिया, प्रेरणाका स्रोत तथा साहित्यिक यात्राबारे अनुभव आदानप्रदान गरेका थिए । यसै क्रममा प्रेम घिमिरेद्वारा लिखित ‘जेन्जीको ज्वाला’ काव्यको भाव, सन्देश र सामाजिक प्रभावबारे समेत चर्चा गरिएको थियो ।

कार्यक्रममा भिमकुमार राउत, केदार गौतम, जीवनस्पर्शी, नानीराम दाहाल, बिमल विक, नारायण घिमिरे, प्रेम घिमिरे, नारदप्रसाद काफ्ले, सुदर्शन भट्ट, प्रतिमा पौडेल, रामचन्द्र पौडेल, रामनाथ महतो, उमा खड्का लगायतका स्रष्टाहरूले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष यशोदा श्रेष्ठले शृङ्खलामा सहभागी भई कार्यक्रमलाई सफल बनाएकोमा सबैप्रति आभार व्यक्त गरिन् । साथै, प्रतिष्ठानले विगतदेखि नै स्थानीय स्रष्टाहरूका प्रकाशित कृतिमाथि समीक्षा र विमर्श गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको