काठमाडौं। विद्युतीय सवारी साधनले डिजेल इन्जिनका सवारीसरह भाडा बढाएको गुनासो आएपछि यातायात व्यवस्था विभागले कारबाहीको चेतावनी दिएको छ।
मंगलबार जारी सूचनामार्फत विभागले अन्तर्राष्ट्रिय बजारमा जैविक इन्धनको मूल्यवृद्धि भएपछि स्वचालित भाडा प्रणालीअनुसार गत २५ चैतमा सार्वजनिक सवारी भाडा समायोजन गरिएको जनाएको छ। तर उक्त समायोजनमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने सेवा प्रदायक समावेश नभएको विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार विद्युतीय सवारीमा इन्धन लागत नलाग्ने भएकाले डिजेल तथा पेट्रोल सवारीसरह भाडा बढाउन नपाइने व्यवस्था रहेको छ। तर, केही विद्युतीय सवारीले समेत बढेको भाडा बराबर नै असुल गरेको गुनासो आएपछि विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निर्धारित व्यवस्था विपरीत भाडा असुलेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।










