७ बैशाख जनकपुरधाम — मधेश प्रदेश प्रहरी संगठनभित्र आर्थिक लेनदेनसम्बन्धी विवाद चर्किएको छ। प्रहरी उच्च अधिकारीको नाममा रकम संकलन गरिएको दाबी गरिएको अडियो सार्वजनिक भएपछि विवाद सतहमा आएको हो। प्रहरी स्रोतका अनुसार मधेश प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया को नाममा व्यापारी राजीव महासेठले विभिन्न व्यापारीसँग रकम संकलन गरेको र उक्त रकम केही प्रहरी कर्मचारीलाई बुझाइएको दाबी गरिएको छ। यससम्बन्धी अडियो संवाद बाहिरिएसँगै संगठनभित्र असन्तोष बढेको बताइएको छ।
उक्त विषय सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान तथा विश्लेषण शाखामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई दोषी देखाउने प्रयास भएको आरोप छ। राणाले आफूलाई लाञ्छना लगाउने प्रयास भइरहेको भन्दै व्यापारी महासेठसँग गरेको फोन संवाद अडियोमा झल्किएको बताइएको छ। तर, राणासँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल बन्द रहेको थियो भने धनुषा प्रहरी प्रमुख रुगमबहादुर कुवर पनि सम्पर्कमा आएका छैनन्।
प्रहरी स्रोतका अनुसार सई जयलाल यादव र वरिष्ठ सई गोपाल थापा मगर आर्थिक संकलनमा सक्रिय रहेको भनिएको छ। मगरलाई उच्च नेतृत्वकै परिवारको सिफारिसमा पठाइएको चर्चा समेत छ।
यस विवादको सुरुआत गत चैत १ गते एक व्यापारीको भन्सारसम्बन्धी विवादित सामान वरिष्ठ सई मगरले नियन्त्रणमा लिएको घटनाबाट भएको बताइएको छ। उक्त विषय काठमाडौँसम्म पुगेपछि प्रदेश प्रहरी प्रमुख थपलियाले सम्बन्धित प्रहरी कर्मचारीलाई जिल्ला तान्ने निर्देशन दिएका थिए, तर यसमा जिल्ला प्रहरीसँग समन्वय नभएको स्रोतको दाबी छ। त्यसपछि व्यापारी राजीव महासेठमार्फत ‘कुरा मिलाउने’ प्रयास भएको र सोही क्रममा रकम संकलन गरिएको आरोप सार्वजनिक भएको हो। विषय चर्किएपछि उक्त कार्य जिल्ला प्रहरीकै टोलीबाट भएको भन्दै जिम्मेवारी पन्छाउने प्रयास भएको आरोपसमेत लागेको छ।
यस विषयमा प्रतिक्रिया दिँदै डीआईजी गोविन्द थपलिया ले अडियोको सत्यतामाथि प्रश्न उठाएका छन्। उनले भने, “यो अडियो कसले र कसरी बनायो भन्ने मलाई थाहा छैन, त्यसबारे सम्बन्धित व्यक्तिलाई नै सोध्नुपर्छ।”
प्रहरी संगठनभित्रै नाम जोडिएको यस्तो आर्थिक विवादले गम्भीर प्रश्न खडा गरेको छ। घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग बढ्दो छ।
श्रोत : nepalpress









