३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान


जिबन राज दाहाल
५ बैशाख,महोत्तरी — ३४ औँ पारिजात स्मृति दिवसको अवसरमा बर्दिबासमा कृति लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रगतिशील लेखक सङ्घ नेपाल ९प्रलेस० मधेश प्रदेश समितिको आयोजना तथा शिशिर घिमिरे स्मृति प्रतिष्ठान नेपालको प्रायोजनमा सम्पन्न कार्यक्रममा प्रलेस मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरेले अध्यक्षता गरेका थिए भने मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा। राम भरोस कापडी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानका अध्यक्ष तथा शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक प्रेम घिमिरेद्वारा लिखित कृति “जेन्जीको ज्वाला” लोकार्पण गरिएको थियो। साथै, शिशिर घिमिरे स्मृति नव प्रतिभा पुरस्कार–२०८२ कमला साहित्य कला समाज धनुषाका अध्यक्ष गणेश तिमिल्सिनालाई प्रदान गरिएको थियो।
प्रलेस मधेश प्रदेशका सचिव भिमकुमार राउतद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रलेस नेपाल महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न साहित्यिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो चरणमा पारिजातप्रति माल्यार्पण गर्दै उहाँको व्यक्तित्व र कृतित्वमाथि परिचर्चा गरिएको थियो। साहित्यकार लिलानाथ गौतम, केदार कोइराला र मदन प्रभातले पारिजातको साहित्यिक योगदान र समाज रूपान्तरणमा उनको भूमिकामाथि विचार व्यक्त गर्दै अन्याय, अत्याचार र शोषणविरुद्ध चेतना फैलाउन साहित्यको भूमिका महत्वपूर्ण रहेको बताए।
दोस्रो चरणमा कवि अग्नि कवचद्वारा लिखित “जेन्जीको ज्वाला” कृतिको समीक्षा गरिएको थियो। कवि मञ्जु मञ्जुभाषिणीले काव्यको शिल्प, भाषा र संरचनामाथि चर्चा गरेकी थिइन् भने कवि जीवनस्पर्शीले यसको वैचारिक पक्ष र प्रगतिशील धारबारे विश्लेषण प्रस्तुत गरेका थिए।
तेस्रो चरणमा सम्मानित स्रष्टा गणेश तिमिल्सिनाले आफूलाई प्राप्त सम्मानप्रति खुशी व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरे। कार्यक्रममा कुमार दाहाल कुसुम, अभिषेक पाण्डे, मिना देवकोटा, गणेश अधिकारीलगायतले कविता, गीत र गजल वाचन गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा। राम भरोस कापडीले बर्दिबासको माटोमै साहित्यको सम्भावना रहेको उल्लेख गर्दै यसको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। उनले मधेश प्रज्ञा प्रतिष्ठानको तर्फबाट आवश्यक सहयोग रहने विश्वास समेत व्यक्त गरे। कार्यक्रमको अन्त्यमा सभाध्यक्ष नारायण घिमिरेले सहभागी सम्पूर्ण अतिथि, सहयोगी संस्था तथा आयोजक टिमप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको