विजयनगर एफएम आठौँ वर्षमा प्रवेश, नागरिक सुसूचित बनाउन महत्वपूर्ण भूमिका


कपिलवस्तु – धर्मेन्द्र कुमार कुर्मी। सामुदायिक रेडियो विजयनगर एफएम १००.७ मेगाहर्ज आठौँ वर्षमा प्रवेश गरेको छ। कपिलवस्तुको विजयनगर गाउँपालिका-६, खडैचामा अवस्थित उक्त रेडियो वि.सं. २०७५ सालमा स्थापना भएको हो। रेडियो विजयनगर गाउँपालिका र विजयनगर समाजद्वारा सञ्चालन हुँदै आएको छ।

दैनिक १८ घण्टा प्रसारण गर्दै आएको रेडियोले स्थानीय समाचार, कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा युवा लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आम नागरिकलाई सुसूचित गर्दै आएको छ। साथै विभिन्न चेतनामूलक कार्यक्रममार्फत सूचना, विज्ञापन तथा मनोरञ्जन प्रदान गर्दै समाजमा सकारात्मक योगदान पुर्‍याउँदै आएको रेडियोले जनाएको छ।

आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले केक काटेर उत्सव मनाएका थिए। सो अवसरमा उनले स्थानीय सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै रेडियो विजयनगरले गाउँघरसम्मका गतिविधिको वास्तविक आवाज बाहिर ल्याउन महत्वपूर्ण योगदान दिएको बताए। रेडियोको निरन्तरता र गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए।

त्यसैगरी, रेडियो प्रमुख राम प्रघट कोरीले स्थापना कालदेखि हालसम्मको यात्राबारे जानकारी गराउँदै सीमित स्रोत–साधनका बाबजुद पनि स्थानीय समस्या, सम्भावना र गतिविधिलाई प्राथमिकतामा राखेर प्रसारण गर्दै आएको बताए। आगामी दिनमा अझ प्रभावकारी र जनमुखी कार्यक्रमका साथ अघि बढ्ने उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा रेडियोलाई यहाँसम्म ल्याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने शेयर सदस्य, विज्ञापनदाता, व्यापारी, श्रोता, समाजसेवी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको थियो। साथै सहभागीहरूले रेडियोको दिगो विकास र प्रभावकारी सञ्चालनका लागि सुझावसमेत दिएका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको