महोत्तरी। गाउँ-गाउँमा सिंहदरबारको अवधारणाअनुसार सेवा नागरिकको दैलोमै पुर्याउने व्यवस्था भए पनि जनप्रतिनिधि र कर्मचारीको लापरबाहीका कारण सेवाग्राहीहरू मारमा परिरहेका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका-२ मा वडा कार्यालयनै बन्द गरेर कर्मचारी र जनप्रतिनिधि भ्रमणमा गएपछि यस्तो अवस्था सार्वजनिक भएको हो। स्थानीयका अनुसार औपचारिक रूपमा कार्यालय नै बन्द गरिएको घटना जिल्लामै पहिलो पटक हो।
कार्यालय बन्द हुँदा सेवा लिन पुगेका स्थानीयहरू फर्किन बाध्य भएका छन्। स्थानीय देवनारायण महतोले “कार्यालय गेट नै बन्द थियो, सार्वजनिक बिदा हो कि भनेर सोध्यौं तर त्यस्तो रहेन,” भन्दै यसलाई सुशासनमाथिको मजाक भएको बताए।
प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले बिना जानकारी कार्यालय बन्द गर्नु गलत भएको स्वीकार गर्दै कार्यालय बन्द गरेर भ्रमणमा जान नपाइने बताए।
नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री ले यस विषयमा कार्यपालिका बैठकमा छलफल गरी आवश्यक छानबिन गरिने बताएका छन्। उनले सार्वजनिक बिदा बाहेक कार्यालय बन्द गर्न नपाइने व्यवस्था रहेको स्पष्ट पारे।
वडा कार्यालयको गेटमा कारण नखुलाई सूचना टाँसिएको थियो, जसमा नयाँ वर्षको शुभकामना दिँदै महिनाको अन्त्यसम्म बिदा रहने उल्लेख गरिएको छ। तर उक्त सूचनामा वडाध्यक्षको हस्ताक्षर नभएको पाइएको छ।
घटनापछि स्थानीयहरूले इलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी दिएका छन्। इलाका प्रशासन कार्यालयका प्रमुख माधव न्यौपाने का अनुसार उजुरी जिल्ला प्रशासन कार्यालय हुँदै गृहमन्त्रालय पठाइएको छ।
यस विषयमा वडाध्यक्ष श्यामराजा सिंहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार विशेष परिस्थितिमा मात्र स्थानीय तहले बिदा दिन सक्ने व्यवस्था रहेको छ।










