नयाँ वर्ष नजिकिँदै सलहेश फूलबारीमा चहलपहल बढ्दो


सिरहा। सिरहाको लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मा नयाँ वर्ष नजिकिँदै गर्दा चहलपहल तीव्र रूपमा बढ्न थालेको छ।

हरेक वर्ष वैशाख १ गते आयोजना हुने प्रसिद्ध मेलाको तयारीसँगै भारत बाट समेत श्रद्धालुहरूको आगमन सुरु भइसकेको छ। मेला सुरु हुन दुई दिन बाँकी रहँदै फूलबारी क्षेत्रमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

नयाँ वर्षकै दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारको सुनाखरी फूल हेर्न तथा पूजाअर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालुहरू यहाँ पुग्ने गर्छन्।

मेला व्यवस्थापन समितिका अनुसार मन्दिरअगाडि रहेको हारमको रुखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न थालेको छ, यद्यपि पूर्ण रूपमा फक्रिन भने बाँकी रहेको जनाइएको छ।

करिब नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारी क्षेत्रमा अहिले नै श्रद्धालुहरू दिनरात बस्न थालेका छन्। रुखमुनि पाल टाँगेर बास बस्ने क्रम बढ्दो भए पनि पूर्वाधार अभावका कारण असुविधा भइरहेको स्थानीयहरूले बताएका छन्। विशेषगरी धर्मशालाको अभाव प्रमुख समस्या बनेको छ।

लोकगाथाअनुसार सिरहाको महिषोथामा जन्मिएका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमसँग जोडिएको यस फूलबारीलाई विशेष धार्मिक महत्व दिइन्छ। सुनाखरी फूललाई उनीहरूको प्रेमको प्रतीकका रूपमा लिइन्छ।

१४औँ शताब्दीका वीर तथा लोकनायक राजा सलहेशको सम्झनामा आयोजना हुने यो मेला तराई क्षेत्रका पासवान समुदायका लागि विशेष आस्थाको केन्द्र मानिन्छ। यहाँ पूजा गर्दा सन्तान प्राप्ति तथा रोगबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ।

सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरे पनि आवश्यक पूर्वाधार विकासमा अपेक्षित प्रगति हुन नसकेको सरोकारवालाहरूको भनाइ छ। उनीहरूले एकीकृत गुरुयोजना बनाएर काम गर्न सके यस क्षेत्रलाई उत्कृष्ट धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको