धनुषा। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पर्ने धनुषाको ढल्केबर क्षेत्रमा गर्मी मौसमसँगै तरबुजाको व्यापार उल्लेख्य रूपमा बढेको छ।
गर्मी याममा अत्यधिक माग हुने फल भएकाले यहाँ तरबुजाको कारोबार फस्टाएको हो। मधेश प्रदेशको राजधानी जनकपुरधाम को प्रवेशद्वारसमेत रहेको ढल्केबरमा हाल तरबुजा बिक्री गर्ने पसलको सङ्ख्या पनि बढेको छ।
स्थानीय व्यापारीहरूले दुई दर्जनभन्दा बढी स्थानमा अस्थायी टहरा निर्माण गरी बिक्री केन्द्र सञ्चालन गरेका छन्। लोकमार्ग हुँदै आवतजावत गर्ने बस तथा निजी सवारीका यात्रु र स्थानीय उपभोक्ताको उल्लेख्य भीड दैनिक रूपमा लाग्ने गरेको छ।
व्यापारीका अनुसार ढल्केबरमा अहिले दैनिक १० लाख रुपैयाँभन्दा बढीको तरबुजा कारोबार भइरहेको छ। गर्मीमा चिसोपन दिने फलका रूपमा लोकप्रिय भएकाले यसको माग उच्च रहेको बताइएको छ।
यहाँ बिक्री हुने अधिकांश तरबुजा भने भारत का विभिन्न सहर-उडिसा, कोलकाता र सिलिगुडीबाट आयात गरिन्छ। स्थानीय उत्पादन वैशाखको दोस्रो वा तेस्रो सातापछि मात्र बजारमा आउने भएकाले हाल माग पूर्ति गर्न आयातमा निर्भर हुनुपरेको व्यापारीहरूको भनाइ छ।
ढल्केबरमा तरबुजा प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा बिक्री भइरहेको छ भने काटेर तयार पारिएको तरबुजा २० देखि २५ रुपैयाँमा पाइन्छ। व्यापारी बैधनाथ चौधरीका अनुसार भारतबाट तरबुजा ल्याउँदा ढुवानी खर्चमै ४ देखि ५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ।
धनुषाको कमला नदी आसपासका गाउँमा पनि तरबुजा उत्पादन हुने भए पनि समयमै उत्पादन नआउँदा बजारको माग धान्न कठिन हुने गरेको व्यापारीहरूको भनाइ छ।
व्यापारी रामकुमार महतोका अनुसार ढल्केबर पछिल्लो समय तरबुजाको प्रमुख थोक केन्द्रका रूपमा विकास हुँदै गएको छ। यहाँबाट वीरगञ्ज, काठमाडौँ र पोखरा लगायतका सहरमा समेत तरबुजा आपूर्ति हुँदै आएको छ।



















