काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा निगमलाई ठूलो घाटा व्यहोर्नुपरेको भन्दै नयाँ मूल्य समायोजन गरिएको जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।
यसैगरी, १४.२ केजी एलपी ग्यासको मूल्य १०० रुपैयाँले बढेर २०१० रुपैयाँ पुगेको छ भने हवाई इन्धन (आन्तरिक) मा प्रति लिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।
निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजनपछि पनि पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको छ। हाल पेट्रोलमा प्रति लिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।
निगमले हाल लागतअनुसार पूर्ण मूल्य समायोजन नगरी आंशिक वृद्धि मात्र गरिएको जनाएको छ। घाटा निरन्तर बढ्दै गए इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न समस्या हुने र इन्धन आपूर्ति व्यवस्थापनमा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ।
मूल्य वृद्धि पछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ।
















