बिलभन्दा बढी केराउ बोकेको पिकअप गाडी बर्दिबासमा नियन्त्रणमा


बर्दिबास, महोत्तरी। महोत्तरीको बर्दिबासमा बिल/बिजकभन्दा बढी केराउ बोकेको एक पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले चैत २१ गते राति करिब १ बजे बर्दिबास नगरपालिका-१४ स्थित शिव मन्दिर नजिक सडक खण्डमा बा प्र ०१-०३२ च १९०४ नम्बरको पिकअप गाडी रोकेर जाँच गरेको थियो।

प्रहरीका अनुसार गाडीमा रहेको सामानको बिल जाँच गर्दा अनलाइन बिल र प्यान बिलमा १००० किलो चना र ८०० किलो केराउ उल्लेख भए पनि वास्तविक रूपमा गाडीमा बिलभन्दा बढी केराउ फेला परेको थियो।

जाँचका क्रममा ७६ बोरा (प्रति बोरा ३० केजी) केराउ अतिरिक्त रूपमा फेला परेपछि उक्त सामानसहित पिकअप गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएको केराउ र गाडीको अनुमानित मूल्य ११ लाख ५९ हजार ६०० रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएको सामान र सवारीसाधनलाई आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको