बर्दिवास, महोत्तरी। महोत्तरीको बर्दिवासमा युवाहरूको भविष्य निर्माणतर्फ लक्षित एउटा महत्वपूर्ण पहल सुरु भएको छ। शनिबारदेखि बर्दिवासमा लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा औपचारिक रूपमा सञ्चालनमा आएको छ, जसले सरकारी सेवामा प्रवेश गर्ने आकांक्षा बोकेका युवाहरूमा नयाँ उत्साह जगाएको छ।
बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा कर्मचारी मिलन केन्द्र, बर्दिवास द्वारा आयोजित यो तयारी कक्षा तीन महिनासम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री ले विशेष समारोहबीच गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख क्षेत्रीले भने, “स्थानीय तहले युवाको क्षमता अभिवृद्धिमा लगानी गर्नु आवश्यक छ, यसले दीर्घकालीन रूपमा समग्र समाजलाई लाभ पुर्याउँछ। यसरी सञ्चालन हुने कक्षाले स्थानीय युवालाई प्रतिस्पर्धी बनाउँदै सरकारी सेवामा प्रवेशको बाटो सहज बनाउनेछ।”
यस कक्षामा हाल ४५ जना प्रशिक्षार्थी सहभागी छन्। कक्षामा दक्ष र अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्, जसले सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्राप्त हुने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमै सञ्चालन हुने कक्षाले महँगो शुल्क तिरेर बाहिर जानुपर्ने बाध्यतालाई कम गर्नेछ। यसले विद्यार्थी र अभिभावक दुवैमा उत्साह थपिएको छ।
उद्घाटन कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष सुनिल शर्मा पौडेल को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, वडा नम्बर १४ का अध्यक्ष तथा नगर प्रवक्ता विजय कुमार महतो लगायत कर्मचारी, समाजसेवी र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
बर्दिवासमा यस्ता पहलले युवाहरूलाई गुणस्तरीय तयारीको अवसर दिने मात्र होइन, स्थानीय सरकार, संस्थाहरू र समुदायबीच सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।










