बर्दिवास अस्पतालमा थाइराइड र भिटामिन परीक्षण सुरु, CLIA मेसिन हस्तान्तरण


बर्दिवास, महोत्तरी। महोत्तरीको बर्दिवास नगरपालिकाभित्र रहेको एकमात्र सरकारी स्वास्थ्य संस्था बर्दिवास अस्पतालमा अब थाइराइड तथा भिटामिन परीक्षण सेवा सुरु हुने भएको छ।

स्थानीय युवाको पहलमा अस्पतालमा आधुनिक CLIA मेसिन जडान भएपछि यस क्षेत्रका बिरामीलाई थप सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

अस्पतालले हालै गरेको अध्ययनमा बर्दिवास तथा आसपास क्षेत्रमा थाइराइड र भिटामिनको कमी भएका बिरामी उल्लेख्य संख्यामा भेटिएपछि त्यस्ता परीक्षण गर्ने उपकरणको अभाव महसुस गरिएको थियो। सोही आवश्यकतालाई मध्यनजर गर्दै बर्दिवास युथ क्लबले उक्त मेसिन उपलब्ध गराएको हो।

शनिबार आयोजित कार्यक्रममा क्लबका अध्यक्ष कृष्ण कार्कीले नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीलाई औपचारिक रूपमा उपकरण हस्तान्तरण गरेका थिए। मेसिन जडानसँगै अब बर्दिवासमै थाइराइड, भिटामिन लगायतका महत्वपूर्ण परीक्षण सहज रूपमा गर्न सकिनेछ।

यसअघि यस्ता परीक्षणका लागि बिरामीहरूलाई महँगा निजी प्रयोगशालामा जानुपर्ने बाध्यता रहेको थियो। नयाँ उपकरणले समय, खर्च र झन्झट घटाउने विश्वास गरिएको छ।

कार्यक्रममा नगर प्रमुख क्षेत्रीले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै युवाहरूको पहललाई सहकार्यको उत्कृष्ट उदाहरण बताएका छन्। क्लब अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

बर्दिवास युथ क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद तथा जलवायु परिवर्तनका क्षेत्रमा निरन्तर सामाजिक अभियान सञ्चालन गर्दै आएको छ।

स्थानीयका अनुसार यो पहल स्वास्थ्य सेवामा आत्मनिर्भर बन्ने दिशामा महत्वपूर्ण कदम भएको भन्दै नयाँ सेवाले समयमै रोग पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा, अस्पताल प्रशासकीय प्रमुख दिपेश काफ्ले लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको