बर्दिवास, महोत्तरी। बर्दिवास उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार उत्तम कुमार श्रेष्ठ नेतृत्वको प्यानलले १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।
चैत २४ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको घोषणापत्रमा उद्योगी-व्यवसायीको हकहित संरक्षण, आर्थिक गतिविधि सुदृढीकरण र दीर्घकालीन विकासका एजेन्डा समेटिएका छन्।
श्रेष्ठ प्यानलले बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी सहुलियतपूर्ण कर्जा प्रवाह सुनिश्चित गर्ने, आर्थिक संकटका कारण व्यवसायबाट पलायन हुने अवस्था रोक्न राहत कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी संघका गतिविधिलाई प्रविधिमैत्री बनाउँदै डिजिटल पहुँच विस्तार गर्ने, नियमित सदस्यका लागि बीमा सुविधा उपलब्ध गराउने योजना अघि सारिएको छ।
बर्दिवासलाई कृषि सङ्कलन केन्द्रका रूपमा विकास गर्ने, अटो व्यवसायीका लागि ‘अटो ल्यान्ड’ निर्माण गर्ने तथा बजार क्षेत्रलाई सीसीटीभीयुक्त बनाउँदै ‘उज्यालो बर्दिबास’ अभियान सञ्चालन गर्ने लक्ष्य पनि प्यानलले राखेको छ।
घरधनी-व्यवसायीबीचको सम्बन्ध सुधार गर्दै भाडासम्बन्धी समस्या समाधान गर्ने, स्थानीय उत्पादन प्रवर्द्धनका लागि स्थायी प्रदर्शनी स्थल निर्माण गर्ने तथा रात्रिकालीन बजार सञ्चालन गर्ने योजना पनि समेटिएको छ।
युवालाई लक्षित गर्दै सीपमूलक तालिम, स्टार्टअप प्रवर्द्धन तथा परम्परागत सीपलाई व्यवसायीकरण गर्ने कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, कृषि पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमार्फत बर्दिवासको समृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ।
व्यवसायीका लागि कानुनी परामर्श सेवा, औद्योगिक ग्राम निर्माण तथा तीनै तहका सरकारसँग समन्वय गरी नीतिगत समस्या समाधान गर्ने विषय पनि घोषणापत्रमा समावेश गरिएको छ।
प्यानलले स्थानीय मिडियासँग सहकार्य गर्दै सूचना प्रवाह सुदृढ गर्ने र सम्पूर्ण व्यवसायीलाई एउटै छाताभित्र गोलबद्ध गर्ने लक्ष्य लिएको छ।
यसैबीच, आगामी तीन वर्षभित्र ‘व्यवसायी कल्याणकारी अक्षयकोष’ स्थापना गर्ने महत्वपूर्ण योजना समेत सार्वजनिक गरिएको छ।
घोषणापत्रका बुँदाहरू:
- वित्तीय पहुँच र सुलभ कर्जा: बैंक तथा वित्तीय संस्थाहरूसँग विशेष समन्वय गरी उद्योगी व्यवसायीहरूका लागि सहज र सहुलियतपूर्ण कर्जा प्रवाहको ठोस व्यवस्था मिलाउन।
- व्यावसायिक पलायनता रोकथाम: वर्तमान आर्थिक संकटबाट प्रभावित व्यवसायीहरूलाई पलायन हुनबाट जोगाउन विशेष राहत योजना र संरक्षणका कदमहरू चाल्न।
- प्रविधिमैत्री डिजिटल संघ: संघका सम्पूर्ण गतिविधि डिजिटल प्रविधि बाट व्यावसायिका घर पसलमा पुर्याउन र आधुनिक व्यावसायिक प्रवर्द्धनका लागि ‘डिजिटल पहुँच’ सुनिश्चित गर्न।
- सदस्य सुरक्षा र बीमा: समयमै नवीकरण गर्ने सदस्यहरूका लागि गम्भीर रोग, दुर्घटना र मृत्यु जोखिम समेट्ने गरी ‘विशेष बीमा सुविधा’ उपलब्ध गराउन।
- बर्दिबासलाई कृषि र व्यापारिक हब बनाउने: बर्दिबासलाई मधेश प्रदेशकै ‘वृहत् कृषि सङ्कलन केन्द्र’ का रूपमा स्थापित गर्न र अटो व्यवसायीका लागि व्यवस्थित ‘अटो ल्यान्ड’ निर्माण गर्न।
- सुरक्षित व्यापारिक वातावरण: ‘उज्यालो बर्दिबास’ अभियान र सम्पूर्ण बजार क्षेत्रलाई ‘सीसीटीभी’ युक्त बनाई सुरक्षित व्यवसायको प्रत्याभूति दिलाउन।
- सुमधुर घरधनी-व्यवसायी सम्बन्ध: घरधनी र व्यवसायीबीचको सम्बन्धलाई सुमधुर बनाउँदै भाडा लगायतका समस्याहरूलाई आपसी समझदारी र समन्वयमा समाधान गर्न।
- पूर्वाधार र रात्रिकालीन बजार: स्थानीय उत्पादनको बजारीकरणका लागि ‘स्थायी प्रदर्शनी स्थल’ निर्माण गर्ने र आर्थिक गतिविधि बढाउन ‘रात्रिकालीन व्यवसाय’ (Night Market) सञ्चालन गर्न।
- युवा स्वरोजगार र स्टार्टअप: नयाँ स्टार्टअप व्यवसायका लागि सीपमूलक तालिम प्रदान गर्ने र परम्परागत सीपलाई व्यवसायीकरण गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न।
- पर्यटन र सम्पदा संरक्षण: धार्मिक, सांस्कृतिक र रातु सभ्यताको संरक्षण गर्दै ‘हाम्रो बर्दिबास, राम्रो बर्दिबास’ र कृषि पर्यटनको माध्यमबाट समृद्धिको आधार तयार गर्न।
- कानुनी सहायता र औद्योगिक ग्राम: व्यवसायीहरूलाई आवश्यक कानुनी परामर्श उपलब्ध गराउन र यस क्षेत्रमा ‘औद्योगिक ग्राम’ निर्माणका लागि पहल गर्न।
- तिनैतहका सरकारसँग समन्वय: स्थानीय, प्रदेश र संघीय सरकारसँग प्रभावकारी समन्वय गरी उद्योगी व्यवसायीका समस्यालाई नीतिगत तहसम्म पुर्याउन र कार्यान्वयन गर्न।
- मिडिया र सूचना प्रवर्द्धन: स्थानीय मिडिया उद्योगलाई आत्मनिर्भर बनाउँदै व्यावसायिक सूचना र प्रवर्द्धनमा सहकार्य सुदृढ गर्न।
- व्यावसायिक एकता: सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई संघको एउटै छाताभित्र गोलबद्ध गरी साझा हकहितको रक्षा गर्न।
- अक्षयकोष स्थापना: यस प्यानलले उद्योग वाणिज्य सङ्घ, बर्दिवासको नेतृत्व गर्ने अवसर प्राप्त गरेमा, व्यवसायीहरूको वृहत्तर हकहित र भैपरी आउने समस्या समाधानका लागि आगामी ३ वर्षभित्र एक ‘व्यवसायी कल्याणकारी अक्षयकोष’ स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।










