काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बर्दिया घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीय अर्जुन बहादुर पौडेल, सर्लाही घर भई ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका-१६ बस्ने ४३ वर्षीया उमा गुरुङ, कास्की घर भई ललितपुर महानगरपालिका-७ बस्ने ३३ वर्षीय आशिष महत तथा रामेछाप घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न देश पठाइदिने बहानामा पीडितहरूबाट लाखौं रुपैयाँ ठगी गरेका थिए। अर्जुनले क्रोएशिया पठाइदिने भन्दै ३ लाख ३० हजार, डिल्लीले माल्दिभ्स पठाइदिने भन्दै २ लाख ९९ हजार, उमाले बेलायत पठाइदिने भन्दै २ लाख, आशिषले बेलायत पठाइदिने भन्दै २३ लाख र संगिताले पोर्चुगल पठाइदिने भन्दै ३ लाख ६८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।









