वीरगञ्ज। पर्साको वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार मेनगेटबाट ५० वर्षीय विनयशंकर साह तुरहालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सिट कभरमुनि प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा नगद रकम फेला परेको थियो।
बरामद रकममध्ये २० लाख २५० रुपैयाँ नेपाली र ६०० रुपैयाँ भारतीय नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका साहलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।



















