ग्यास संकटबीच मधेशका गाउँमा चिन्ता छैन, गोइँठाले बलिरहेकै छ चुल्हो


सिरहा। सिरहा सहित तराई-मधेशका गाउँहरूमा परम्परागत रूपमा प्रयोग हुँदै आएको गोइँठाका कारण खाना पकाउने ऊर्जा संकटको असर खासै परेको छैन।

मध्यपूर्वमा इजरायल-इरान बीच तनाव बढ्दा र संयुक्त राज्य अमेरिका को संलग्नतासँगै विश्वभर पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएको छ। यसको असर नेपालमा पनि देखिन थालेको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ।

ग्यास अभाव व्यवस्थापन गर्न सरकारले आधा सिलिन्डर ग्यास वितरणको अवधारणा अभ्यासमा ल्याए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। यसले सहरका बासिन्दामा खाना पकाउने चिन्ता बढाएको छ।

तर, मधेशका ग्रामीण क्षेत्रमा भने यो संकटको प्रभाव खासै देखिएको छैन। यहाँका गाउँमा परम्परागत रूपमा गोबरबाट बनाइने गोइँठा खाना पकाउने प्रमुख ऊर्जाको स्रोत बनेको छ। गाउँ-टोलका घरको आँगन, छाना, भित्तो तथा खेत-चौरमा सुकाउन राखिएका गोइँठाका चाङ सजिलै देख्न सकिन्छ।

पशुपालनसँग जोडिएको ग्रामीण जीवनशैलीका कारण गोबर सजिलै उपलब्ध हुने भएकाले स्थानीयले वर्षभरि प्रयोग गर्न पुग्ने गरी गोइँठा तयार पार्ने गरेका छन्। यही कारण सहरमा ऊर्जा संकटको त्रास बढिरहँदा मधेशका गाउँवासी भने निर्धक्क देखिन्छन्।

गोलबजार नगरपालिका-८ की इन्द्रासैन महरा भन्छिन्, “हामी गाउँघरमा पहिलेदेखि नै गोबरबाट बनाएको गोइँठा प्रयोग गरेर खाना पकाउँदै आएका छौँ। आफ्नै घरमा भएका पशुबाट गोबर पाइन्छ, त्यसैले वर्षैभरि प्रयोग गर्न सकिन्छ।”

सोही ठाउँकी आगैरदेवी उराउका अनुसार गोइँठा केवल खाना पकाउने साधन मात्र नभई संस्कार र परम्परासँग पनि जोडिएको छ। “सहर-बजारमा बस्नेले यसको महत्त्व बुझ्दैनन्। विवाह, चाडपर्वदेखि मृत्यु संस्कारसम्मका धार्मिक तथा सामाजिक कार्यमा पनि गोइँठाको प्रयोग हुन्छ,” उनले भनिन्।

उराउका अनुसार ग्यासभन्दा गोइँठामा पकाइएको खाना स्वादिलो लाग्छ। “हामीलाई त यही गोइँठामा पकाएको खाना मीठो लाग्छ,” उनले भनिन्।

यहाँका महिलाले गोबरलाई हातले आकार दिएर भित्तो वा जमिनमा टाँसेर सुकाउने गर्छन्। सुकेपछि त्यसलाई भण्डारण गरी वर्षभरि खाना पकाउन प्रयोग गरिन्छ। पशुपालनमा सक्रिय ग्रामीण परिवारका लागि केही दिनको मेहनतले तयार हुने गोइँठा नै वर्षभरि चुल्हो बाल्ने मुख्य ऊर्जा स्रोत बनेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको